Showing posts with label बाढीपीडित. Show all posts
Showing posts with label बाढीपीडित. Show all posts

Sunday, October 12, 2008

बाढीपीडितहरू प्रदूषित पानी पिउन बाध्य

डडेल्धुरा जिल्लामा यसै महिनाको पहिलो साताको अविरल वर्षापछि आएको बाढीका कारण प्रभावित बासिन्दाहरू प्रदूषित पानी पिउन बाध्य भएका छन् । बाढीले खानेपानीका मुहानहरू बगाएपछि उनीहरू प्रदूषित पानी पिउन बाध्य भएका हुन् ।

बाढीका कारण प्रभावित भएका डडेल्धुरा जिल्लाका १२ भन्दा बढी गाउँका सर्वसाधारणहरू अहिले नदी र खोलानालाहरूको प्रदूषित पानी उपयोग गर्दै आइरहेका छन् ।

बाढीका कारण प्रभावित तथा विस्थापित भित्री मधेसका आलिताल, शिर्ष र जोगबुढाका करिब ७०० परिवार घन्टौँ हिँडेर रङ्गुन, महाकालीलगायतका नदीहरूको धमिलो पानी प्रयोग गर्दै आइरहेका छन् । बाढीका कारण भित्री मधेसका ६० परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने ६८१ परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जनाएको छ ।

प्रदूषित पानीकै कारण बाढीपीडितहरूमा विभिन्न सरुवा रोग देखापरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरूमा ज्वरो, टाइफाइड, निमोनिया, रूघाखोकी तथा पखालाको सङ्क्रमण देखापरेको छ ।

प्रभावित क्षेत्रहरूमा दुई चरणमा हेलिकोप्टरबाट राहत सामग्री र औषधि पुर्‍याइए पनि न शुद्ध पानीको विकल्प खोजिएको छ, न पानी शुद्ध पार्न औषधिको नै प्रयोग गरिएको छ । यसैबीच विस्थापितहरूले रूखको फेदमुनि दसैँको टीका र आशीर्वाद थापेका छन् ।



नेपाल जापान डट् कम् सम्वाददाता
डडेल्धुरा अक्टोबर, १२